भीमदत्त १८ का वडा अध्यक्ष देबकोटा किन निस्किए कार्यपालिका बैठक छाडेर ? यस्तो छ कारण

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा आफूलाई असुरक्षा भएको भन्दै कार्यपालिका छाडेर बाहिर निस्किएका छन् ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाको १२ औं बैठकमा आइतबार भीनपा ११ का वडा अध्यक्ष
कार्यपालिका बैठकबाट बाहिरिएपछि का वडा अध्यक्ष देबकोटाले वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफूमाथि दुव्र्यवहार र असुरक्षा भएको भन्दै बैठक छाडेर निस्किएको बताए ।

‘वडाका दुई बाटोका लागि मेयरसाप योजना हालि दिनु पर्ने भनेर माग गर्दै थिए, त्यहीं बेला वहाँ ११ का वडा अध्यक्षज्यू उठ्नु भो र सिँधै बजेट दिनु हुँदैन भन्न थाल्नु भो, त्यसपछि वहाँले मलाई तँ बाहिर हिँड, तँलाई देखाई दिन्छु भन्नु भयो, ममाथि दुव्र्यवहार भयो, बाहिर हिँड भनेपछि ममाथि असुरक्षा बढ्यो, अनि बाहिर निस्केर आए’ पत्रकार सम्मेलनमा वडा अध्यक्ष देबकोटाले भने ।

भीनपा ११ का वडा अध्यक्ष थापाले आफूले मेयरसित योजना माग गर्दा आक्रोशित हुनु पर्ने कारण थाहा नभएको वडा अध्यक्ष देबकोटाले बताए ।

‘वहाँ म दुबै कार्यपालिका सदस्य हौं, वडा पनि फरक फरक छ, मैले मेरो वडाका लागि बजेट माग्दा वहाँलाई किन रिस उठेको हो, त्यो मलाई थाह छैन’ उनले भने,‘मेरो वहाँसित कुनै व्यक्तिगत रिसिइबी पनि छैन ।’

वडा अध्यक्षबीच चर्काचर्की भएपछि मेयर पदम बोगटीले हस्तक्षेप गरी चुप लाग्न निर्देशन दिएको र त्यसपछि आफू बाहिर निस्केर आएको उनले बताए । ‘तँलाई बाहिर देखाई दिन्छु भनेपछि मैले त्यहाँ बस्ने कुरा भएन’ उनले भने ।

देबकोटा एमाले र थापा काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । भीमदत्तका असार १० गते हुने नगर सभाका नीति तथा कार्यक्रममाथि छलफलका लागि दिउँसो ३ बजेट बैठक बसेको हो ।

बैठकमा आर्थिक विधेयक र आर्थिक ऐनमा छलफल गरी पारित गरेपछि अध्यक्ष देबकोटाले पूर्वाधार विकास शाखा अन्र्तगतको बजेटमा वडाका दुई योजनाका लागि मेयर बोगटीसित माग राखेका हुन् ।

ती दुई योजानमा लक्ष्मी माध्यमिक विद्यालयदेखि खैरभट्टी र शिव पार्वती टोलको सडक निर्माण छन् । ती दुई सडक निर्माणका योजनाका लागि माग राखेपछि वडा अध्यक्ष थापाले विरोध गरेपछि बैठकमा चर्काचर्की भएपछि बैठक छाड्ने अवस्था आएको हो ।

वडा अध्यक्ष देबकोटाले थापाले १८ नम्बर वडामा संघ र प्रदेश सरकारको बजेट पनि भएकाले बजेट दिनु नहुने भन्दै विरोध गरेको उनले बताए ।

त्यस अघि उप मेयर निलम लेखक जोशीले बैठकमा १८ नम्बर वडाको योजना तर्जुमा बैठकमा आफूलाई नबोलाएको भन्दै असन्तुष्टि पोखेको सहभागीहरुले बताए ।

वडा अध्यक्ष देबकोटासित चर्काचर्कीपछि ९ नम्बरका वडा अध्यक्ष गगन कार्कीले बैठकमै आपत्ति जनाए । उनले कार्यपालिका सदस्यमाथि दुव्र्यवहार हुनु दुःखद भएको भन्दै आपत्ति जनाए ।

भीमदत्तको कार्यपालिकामा एमालेबाट देबकोटा र कार्की सहित तीन सदस्य छन् । भीमदत्तको कार्यपालिका र नगर सभा दुबैमा काँग्रेस बहुमतमा छ ।

वडा अध्यक्ष देबकोटाले बहुमतको दम्भ देखाएर आफूमाथि दुव्र्यवहार गरिएको हुन सक्ने आशंका व्यक्त गरे ।

‘त्यो कार्यपालिकाका सबै सदस्य समान हौ, पार्टीगत रुपमा ठूलो सानो हुँदैन’ उनले भने,‘मलाई बहुमतको दम्भले ममाथि यस्तो गरिएको हुन सक्छ’ उनले भने ।

भीमदत्तको नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४ को दफा ७ मा बैठक सञ्चालन प्रक्रिया सम्बन्धि व्यवस्था गरिएको छ ।

दफा ७ को उप दफा ५ मा बैठकमा एक जना सदस्यले बोलि रहेको समयमा अर्को कुनै सदस्यले बिचमा कुनै कुरा काट्नु हुँदैन भन्ने उल्लेख छ । त्यसरी बोलि रहने व्यक्तिलाई बैठकको अध्यक्षता गरि रहेका सदस्यले समय निर्धारण गर्ने व्यवस्था छ ।

वडा अध्यक्ष देबकोटाले नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि विपरित आफूमाथि दुव्र्यवहार गरिएकोमा असन्तुष्टि पोखे ।

कार्यपालिका बैठकमा आफूमाथि गरिएको दुव्र्यवहारबारे आफू पार्टीसित छलफल गरी अघि बढ्ने वडा अध्यक्ष देबकोटाले बताए । ‘यो विषयमा पार्टीसित छलफल गरी अघि बढ्छु’ उनले भने ।

भीमदत्त नगरपालिकाले आफूमाथिको दुव्र्यवहारलाई समान्य रुपमा लिएर मंगलबार नगर सभा समेत सहभागी हुन नसक्ने अवस्था आउने उनले बताए ।

१८ नम्बर वडा भीमदत्त नगरपालिकाको सबैभन्दा बढी जनसंख्या र मतदाता भएको वडा हो ।

वडा अध्यक्ष देबकोटाले सबैभन्दा बढी जनसंख्या, भूगोल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म जोडिएकाले बजेट नभएर जन अपेक्षा अनुसार विकास निर्माण कार्य हुन नसकेको बताए ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता पदमराज अवस्थीले देबकोटा र थापाबीच विवादको कारण थाहा नभएको बताए ।

नगर प्रवक्ता अवस्थीले देवकोटाले बैठकमा राखेका दुबै योजना बजेटमा समावेश गरिने बताए । ‘वहाँले राखेका दुबै योजनामा बजेट छ, त्यसमा मेयर सापले निर्णय दिइ सक्नु भएको छ’ उनले भने ।

भीनपा ११ का वडा अध्यक्ष थापाले बैठकमा समय नमागेर एकोहोरो बोलेको र माग सम्बोधन हुँदा पनि अपशब्द बोलेको, मेयर, उप मेयरपछि आफूसित जोडले बोलेपछि आफूले आफ्नो भागको बजेट समेत दिनु भनेर भनेको सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।

सम्बन्धित

Comments are closed.