असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च

महेन्द्रनगर । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो । यसमध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

योसँगै चालु आर्थिक वर्षको यो अवधिसम्म १३ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ९ खर्ब १० अर्ब ५७ करोड, पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो ।

गत जेठ १५ गते अर्थ मन्त्रालयले उक्त बजेट खर्चको संशोधित अनुमान गरेको थियो । यसमध्ये चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ ।

सम्बन्धित

Comments are closed.