भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’
प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।
त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’
सर्लाहीकाे पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् ।
Comments are closed.