कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने बताउनुभएको हो ।
उहाँले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको बताउनुभएको छ ।

महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँको भनाई छ । केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न उहाँले आग्रहसमेत गर्नुभएको छ ।

ती देशले महामारी लगभग नियन्त्रणमा लिएका छन् । ६ महिनाको अवधिमा विश्वभर सङ्क्रमितको संख्या एक करोड दुई लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजारभन्दा धेरै छ । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.