प्रधानमन्त्री ओली संकटमा, मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा जुट्नुभएको छ ।

हिजो पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै हिजो बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन । स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.