महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोली अर्थात् बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो। यस विषयमा आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बसेको छ
बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गरिएको मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदले बताए । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल सत्ता गठबन्धन दल नेकपा एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भइसकेका छन्।
सरकारलाई पूर्णता दिने क्रममा अब नेकपाबाट थप ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने तयारी छ। विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँट र बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइने छ।
विश्वासको मत र सरकार विस्तारका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो।
त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो।
प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यतामा रहेकाले सरकार विस्तारपछि बजेट ल्याउने प्रक्रिया पनि छिटो अघि बढ्ने अपेक्षा गरिएको छ ।
Comments are closed.