महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।
उक्त निर्णय आगामी बैठकमा सभामुखले जानकारी गराउने तयारी छ । देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए।
त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बसेका छन्। अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए।
सभामुखलाई सम्बोधन गरी पठाइएको पत्रमा उनले व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेको र त्यसपछि स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको बताएका थिए।
स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता पनि उनले जनाएका थिए।तर, उक्त पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि देउवा नेपाल फर्किएका छैनन्।
उनको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे नेपाली कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ। नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ।
धारा १८० को (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।
Comments are closed.