महेन्द्रनगर ।कञ्चनपुरको वेदकोट नगरपालिकाका युवाहरू रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री संकलनमा जुटेका छन् ।
वेदकोट नगर उत्थानशील युवा सञ्जाल र युनाइटेड ब्रदर्स क्लबको संयुक्त पहलमा सुडा लालपुर क्षेत्रमा रहेका पसलबाट रसुवाका बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री संकलन अभियान सञ्चालन गरिएको हो ।
अभियानअन्तर्गत युवाहरूले स्थानीय समुदाय तथा विभिन्न व्यक्ति र संस्थासँग समन्वय गरी आवश्यक राहत सामग्री संकलन गरिरहेका छन् । बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको वेदकोट नगर उत्थानशील युवा सञ्जालका संयोजक कामना जोशीले जानकारी दिनु भयो ।
विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकहरूले बताएका छन् । युवाहरूले आफ्नो क्षमताअनुसार सहयोग गरी बाढी प्रभावित परिवारको पीडामा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
Comments are closed.