बोक्सी आरोपमा महिलामाथि कुटपिट

पर्सामा छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् ।

जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण बनेको निलडाम देखिन्छ ।

उनीमाथि गत असार ३१ गते दुर्व्यवहार भएको हो । गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् । बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए ।

सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो ।
आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उनले आफूलाई दुर्व्वहार गर्नेहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिन् । ‘कुनै सौखले म वीरगञ्ज आएको छैन । मलाई बोक्सी भन्दै केहीले कपाल काटे, दुवै हात गोडा बाँधेर, शरीरको कपडा फुकालेर घिसारे । बोक्सी गाउँमा रहन हुँदैन भनेर कुटपीट गरे,’ उनले भनिन्, ‘उनीहरुलाई जसरी पनि कारबाही हुनुपर्छ ।’

दुर्व्यवहारमा जनप्रतिनिधिको समर्थन

सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । तीन वर्षमा उनीहरुले तीन पटक यसैगरी कुटपीट र दुर्व्यवहार गरेको पीडित महिलाको भनाइ छ । ‘दुई ठाउँमा घर छ, भाँडा माझेर घर व्यवहार चलाएकी छु । म गल्ती गरुँ भनेर उनीहरु खोजी रहन्छन्,’ उनले भनिन्, ‘तीन वर्षमा तीन पटक यस्तै दुर्व्यवहार गरिसकेका छन् ।

गाउँका जनप्रतिनिधिहरु पीडित महिलाको पक्षमा लाग्नुको सट्टा उल्टै आरोपीलाई छुटाउन पैरवी गरिरहेको उनको भनाइ छ । ‘घरमा मालिक छैनन्, छोरा पनि बाहिर हुन्छ । आमा, छोरी र बुढी सासू छन् । दुई–चार जना छिमेकी हाम्रो घरमा कसरी घुस्न सक्छन् ?’ उनले भनिन्, ‘बाहिरबाट कसैले तागत दिएको छ र त उनीहरु यसरी पटक–पटक मेरो घरमा आउँछन् । ’

महिला अधिकारकर्मीको चासो

पीडित महिला आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिने क्रममा आँसु थाम्न सक्दिनन् । उनका ओठ सुकिसकेका छन् । लामो कपाल काटिएको छ । साडीको आँचलले टाउको छोपेर बस्छिन् । घरी खुट्टाको चोट देखाउँछिन्, त घरी कुटपीटका कारण शरीरमा बनेका निल डाम देखाउँछिन् ।

उनी मानसिक रुपमा विक्षिप्त भएको शंका लागेपछि महिला अधिकारकर्मी र पत्रकारहरुले उनलाई भेटेर सम्झाएका छन् । उनलाई हिम्मत नहार्न र बयान नफेर्न सल्लाह दिँदै अधिकारकर्मीले प्रहरीले गरिरहेको अनुसन्धान र कारबाहीबारे चासोसमेत राखेका छन् ।

महिला अधिकारकर्मी कोपिला चौलागाईले भनिन्, ‘प्रहरी कार्यालयबाटै पीडित महिलाले बोली फेरिरहेको भन्ने जानकारी आयो, मानसिक रुपमा विक्षिप्त भएकोले होला भन्ने भयो । उनलाई काउन्सिलिङ गरेर फर्केका छौं । घटनालाई प्रहरीले कसरी हेरिरहेको छ भनेर पनि जानकारी लियौं ।’

प्रहरी अनुसन्धानमा लापरबाही नहोस्, अभियुक्तहरुलाई सजायमा कमी नहोस र पीडितलाई दबाव र प्रभावमा पारेर बयान फेर्ने कोसिस नहोस् भनेर आफूहरुले निरन्तर चासो लिने उनको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहले पनि महिलामाथि भएको दुर्व्यवहारको घटनाका आरोपीहरुलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

‘गरिब एकल महिला अर्काको घरमा भाँडा माझेर जीविकोपार्जन गर्दै आएका छन् । ४८ वर्षको उमेर छ, उनीमाथि चरित्रहिन र बोक्सीको लान्छना लगाएर अमानवीय दुर्व्यवहार गरिएको छ,’ उनले भने, ‘यस्ता निर्दयी मानिसहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । ताकि यसको डरबाट आगामी दिनमा अन्यत्र पनि यस्तो अमानवीय घटना नहोस् ।’

दोषीलाई कारबाही गर्छौं : प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले महिलामाथि अमानवीय व्यवहार गर्ने जो कोहिलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘मान्छे भएर मान्छेलाई गर्न नहुने व्यवहार आरोपीहरुले गरेको पाइएको छ,’ उनले भने, ‘पीडितको तर्फबाट जाहेरी आइसकेको छ । बयान लिईसकेका छौं । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेका छौं । घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर प्रहरी सचेत रहेको बताउँदै उनले घटनाका प्रत्यक्षदर्शीहरुसँग समेत सोधपुछ गर्ने बताए ।

मुलुकी ऐनको फौजदारी संहितामा कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गरे कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने उल्लेख छ । त्यति मात्रै होइन, कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने उल्लेख छ । यस्तो घटनामा कसुर भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी दिन पाइन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.