चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ४२ जना सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कुल ६० जनाको परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
सङ्क्रमित पुरुषहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका रहेका छन् । यसअघि त्यही गणमा कार्यरत ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना त्यही गणमा छन् ।
चितवनको भरतपुर-१० मा रहेको भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।