१३‌ औँ दक्षिण एशियाली खेलकुद: लक्ष्मी मगरले जितिन् साइक्लिङमा स्वर्ण

नेपाली खेलाडीहरूले १३‌ औँ दक्षिण एशियाली खेलकुद सागमा बिहीवार थफ स्वर्ण पदक जितेका छन्।

क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण पदक जितेपछि नेपालले स्वर्ण पदकको सङ्ख्या ३१ पुर्‍याएको छ।

नेपालकै उषा खनालले उक्त विधामा रजत पदक जितिन्।

यसअघि निमा घर्तीमगरले उसुमा स्वर्ण पदक जितेकी थिइन्।

अहिलेसम्म नेपाल सागको पदक-तालिकामा दोस्रो स्थानमा छ।

 

निमाको दोस्रो स्वर्ण

निमा घर्तीमगर लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी हुन्।

उसुको थाउलोअन्तर्गत नान्दौमा बिहीवार उनले बङ्ग्लादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी हुन्।

घर्तीमगरले भारतमा भएको १२औँ सागमा पनि उसुमा स्वर्ण जितेकी थिइन्।

उनले १८.१९ अङ्क प्राप्त गरिन् भने अख्तरले १६.३ अङ्क जोडिन्। श्रीलङ्काकी सञ्जु कुमारीले काश्य पदक हात पारिन्।

निमा घर्तीमगत

भारत शीर्षस्थानमा

बुधवार धेरै स्वर्ण पदक जितेर भारत शीर्ष स्थानमा पुगेको हो।

नेपालले मार्शल आर्ट्सका विभिन्न विधामा अधिकांश स्वर्ण पदक जितेको हो।

नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, र साइक्लिङमा स्वर्ण पदक जितेका छन्।

बुधवारसम्म भारतले ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित कुल ७० वटा पदक जितेको थियो भने नेपालले २९ स्वर्ण १५ रजत र २५ काश्यसहित ६९ वटा पदक हात पारेको थियो।

भुटानबाहेक सबै सहभागी राष्ट्रले स्वर्ण पदक जितेका छन्।

सम्बन्धित

Comments are closed.