सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो। शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ। बाजुराको मार्तडी, बझाङको चैनपुर बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला, बैतडी, अछाम र डोटीमा हिमपातले जनजीवन प्रभावित भएको छ।
बझाङ, बाजुरालगायत जिल्लाका बस्तीमा हिमपातले शुक्रबार शिक्षण संस्था बाजुराको कोल्टी एयरपोर्टमा सेवा बन्द भएको छ। दुई फिटसम्मको हिमपातले विभिन्न सडक अवरुद्ध भएका छन् । यस प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा वर्षा भएर जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिसम्म पहाडी जिल्लामा हिमपात र तराईमा वर्षा जारी छ।
हिमपातसँगै बढेको चिसोका कारण पहाडी जिल्लाको हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। लगातार पानी र हिमपात भएपछि सदरमुकाम बजारक्षेत्र सहित गाउँका विद्यालय बन्द भएका छन् ।
हिमपातकै कारण सडक, बाटो पूर्ण रूपमा बन्द भएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।
स्थानीयका अनुसार सुदूरपश्चिममा यस वर्ष छिटो हिमपात भएको छ। किसानहरू गहुँखेतीलगायतको तयारीमा छन्। अकाशे पानीको भरमा खेती गर्ने यहाँ किसान हिमपातले खुसी भएका छन्। ‘हामी किसानका लागि हिमपात होइन, अमृत वर्षा हो,’ दार्चुलाका किसान बुढाथोकीले भने, ‘हिउँदे बालीका लागि यो हिमपात धेरै उपयोगी रहेको छ।’
डडेल्धुरा सदरमुकामको अहिलेको तापक्रम तीन दशमलव दुई डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्युन हो।
Comments are closed.