दोलखा जिल्लाको कालिन्चोकबाट भक्तपुर फर्किरहेको एउटा यात्रुवाहक बस आइतवार बिहान सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको छ किलो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको त्यहाँका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन्।
उनका अनुसार केही घाइतेलाई उद्धार गरी नजिकैका अस्पतालहरूमा पठाइएको छ।
बसमा तीर्थयात्रीहरू सवार भएको हुन सक्ने तथा हताहत भएका मानिसको सङ्ख्या अझ बढ्न सक्ने बताए।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार उक्त बस अरनिको राजमार्गबाट झन्डै ५०० मिटर तल खसेको थियो।
प्रहरीका अनुसार कालिन्चोक भ्रमणमा आएका यात्रीहरूले उक्त बस रिजर्भ गरेका थिए।
घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको कारण थाहा हुन सकेको छैन।
तर बिहान हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको उनले बताए।