वर्षा र हिमपातले गर्दा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम अवरुद्ध

लगातार काम गर्न सकिए अबको २० दिनमै कालोपत्रेको काम सकिने

वर्षा र हिमपातले गर्दा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको तीन दिनदेखि अवरुद्ध भएको छ । वर्षाले गर्दा विमानस्थल कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ ।

निर्माण कम्पनीका इन्जिनियर पुरन रावलका अनुसार कालोपत्रे गर्नको लागि आवश्यक पर्ने तापक्रम नपुग्दा काम ठप्प रहेको हो । ’कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्रम चाहिने बताउदै उहाले चाहिने आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन लाग्न सक्ने बताउनु भयो । कम्तीमा पनि बुधबारसम्म पर्खिनुपर्ने देखिएको उहाको भनाइ छ ।

वि.सं. २०७५ सालको असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि मंसिर २५ गतेदेखि कालोपत्रे गर्न सुरु भएको थियो । लामो समयपश्चात कालोपत्रेको काम सुरु भए पनि वर्षाले गर्दा झनै काम प्रभावित भएको हो । लगातार काम गर्न सकिए अबको २० दिनमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार ठेक्का भएको केही समय नेपाल बन्द र वर्षा भएकोले सुरुमा काम गर्न नपाएकोले ढिला गरी कालोपत्रेको काम सुरु भएको हो ।

विमानस्थल कालोपत्रे पश्चात अन्य संरचना बनाउन अझै समय लाग्ने छ । पाटनमा विमानस्थलमा ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।

सम्बन्धित

Comments are closed.