सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा सुखडमा आँखा उपचार केन्द्र सेवा संचालन

सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा कैलालीको घोडाघोडी नगरपालिकासंगको सहकार्य तथा सेभा नेपालको सहयोगमा कैलालीको घोडाघोडी नगरपालिका र बर्दगोरिया गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदानगर्न सुखडमा आँखा उपचार केन्द्र सुखड स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको छ । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिनुको साथै समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने छ । आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिने छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मन राज शाहीको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख प्रेम कुमारी थापा ज्यू र विशिष्ठ अतिथि सेभा नेपालका निर्देशक रामप्रशाद कडेलबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा विधिवत उद्घाटन गरिएको छ । नेपाल नेत्रज्याति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रशाद पन्त, नेपाल नेत्रज्योति संघ प्रदेश कार्य समितिका सचिवश्री भूपेन्द्र थापा, र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले शुभकामना व्यक्त गर्नुका साथै गेटाआँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्तूले सबै सहभागीहरुलाई स्वागत तथा आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको विषयमा प्रकास पार्नुभएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीका सदस्य तथा विभिन्न संघ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख, पत्रकार र स्थानीय समाज सेवीहरुको सहभागिता रहेको थियो । कोरोनाको संक्रमणको जोखिमको कारणले गेटा आँखा अस्पताल बाट आँखा उपचार सेवा लिन बाट बिगत लामो समय देखि बन्चित आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुनेछन् । साथै स्वास्थ्य बीमामा बीमितहरुको लागि उपचार केन्द्रबाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परिक्षण, औषधि उपचार अप्रेशन तथा वर्षमा १ हजार रुपैयासम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराईने छ । सुदुरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पु¥याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संचालित १९ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.