बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत बैतडी जिल्लाका १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने

बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत बैतडी जिल्लाका १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । बैतडी जिल्लामा १० स्थानीय तहमा रहेका ४ वटै वडाका १ सय ४४ क्षेत्रमा गणना गरिने भएको जिल्ला कृषि गणना कार्यालय बैतडीका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनु भयो । जिल्ला कृषि गणना कार्यालय बैतडीका प्रमुख पन्तका अनुसार सबैभन्दा बढी बैतडीको डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना कार्य हुने जनाइएको छ । नेपालमा २०१ सालदेखि प्रत्येक १० वर्षमा कृषि गणना हुँदै आएको छ । गणनाका लागि बैतडीमा १२ सुपरीवेक्षक र ५० गणक गरेर ६२ जनाको जनशक्ति खटाइने जनाइएको छ । जनशक्तिलाई चैत २४ सम्म करारमा नियुक्त गरिसक्ने र चैत २५ गतेबाट तालिम दिइनेछ । तालिम वैशाख ३ सम्म सञ्चालन हुनेछ । तालिमपश्चात ४५ दिनसम्म हुने मूल गणना वैशाख ६ गते जेठ १९ सम्म हुने जिल्ला कृषि गणना कार्यालय बैतडीका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनु भयो । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइनेछ । कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषिमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्नेछन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.