वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अपाङ्गमैत्री नभएको गुनासो गरिएको छ। नेत्रहिन युवा संघ कैलालीले धनगढीमा आयोजना गरेको अपाङ्गतामैत्री निर्वाचन प्रणाली र राजनीतिक सहभागिता सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। निर्वाचन प्रणाली अपाङ्गमैत्री नभएकै कारण विगतमा जस्तै यसपटकको निर्वाचनमा समेत आफूहरुले दुःख व्यर्होनुुपर्ने तथा मताधिकारको अधिकारबाट वञ्चित हुने आशंका गरेका छन्। नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावलले मतदान केन्द्र र मतदान सामाग्री अपाङ मैत्री नभएका कारणले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या हुने गरेको बताउनुभयो।
‘निर्वाचनमा शारीरीक अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा सबै पक्ष सकारात्मक हुन जरुरी छ । मतदान केन्द्र र मतदान सामाग्री अपाङ बनाइने गरेको छैन। यसले गर्दा हामीले समस्या भोग्नुुपर्ने देखिन्छ,’ रावलले भन्नुभयो, ‘त्यसैले मतदान केन्द्र र मतदान सामाग्री अपाङ मैत्री बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ।’ रावलले मतदाता नामावलीमा नाम दर्ता गर्न, अपाङ्ग मैत्री मतपत्रको अभाव, मतदान प्रक्रियामा सहभागी हुन एकाघरका नभएर इँच्छाएको व्यक्तिको व्यवस्था नभएका कारण समस्या भइरहेकाले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराउनुभएको छ। अन्तक्रिया कार्यक्रममा उठेका सवालको जवाफ दिदै निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचन आयोग निर्वाचन प्रणाली अपाङ्ग मैत्री बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।
यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले निर्वाचन प्रणाली शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ।