कुनै बेला मालपोत कार्यालय कर्मचारीको पहिलो रोजाइमा पथ्र्यो। उनीहरू त्यहाँ जान माथिल्लो तहमा भनसुन गर्थे। कतिपय कर्मचारीले आर्थिक चलखेलसमेत गर्ने गरेको पाइन्थ्यो। तर अहिले समय फेरिएको छ। धेरैजसो कर्मचारी मालपोत कार्यालय जान चाहँदैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेका कारण त्रासले कर्मचारीको रोजाइमा मालपोत कार्यालय पर्न छाडेको हो। मालपोतमा कार्यरत कतिपय कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन्। स्रोतका अनुसार अख्तियारले धमाधम समात्न थालेपछि कर्मचारी मालपोत जान डराएका हुन्।
कर्मचारी आउन नमानेपछि टीकापुरस्थित मालपोत कार्यालयमा समेत विगत लामो समयदेखि दरबन्दीअनुसारको पद रिक्त छ। कार्यालयमा नासुतर्फ ६ दरबन्दीमध्ये ३ जना र खरिदारतर्फ ५ दरबन्दीमध्ये एकजनाको पद रिक्त छ। अख्तियारले कार्यालयमा कार्यरत एक नासु र एक खरिदारलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा साउन १९ गते पक्राउ गरेको थियो। कार्यालयले दुवैजनाको दरबन्दी विभागमा कायम गरेर अन्य कर्मचारीलाई काजमा खटाइदिन अनुरोध गरेको छ। स्रोतका अनुसार रिक्त पदमा अहिलेसम्म कोही आउन मानेका छैनन्।
विभागले अर्का एक नासुलाई कोहलपुर नगरपालिकाबाट रिक्त दरबन्दीमा सरुवा गरेको छ। उनी अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन्। स्रोतका अनुसार उनी मालपोत आउन चाहेका छैनन्। कार्यालयले रिक्त दरबन्दीमा कर्मचारी पठाइदिन बारम्बार विभागमा पत्राचार गरेको छ। तर विभागले अहिलेसम्म कार्यालयको मागको सुनुवाइ गरेको छैन। कर्मचारीले नै मालपोतप्रति अनिच्छा देखाएपछि विभागलाई दरबन्दीअनुसार पदपूर्ति गर्न कठिनाइ भएको स्रोतको भनाइ छ।
Comments are closed.