कैलालीमा प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइटे भएका हुन् । उनीहरु मध्ये दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढी स्थित भन्सार हुदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताएका छन् ।
उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा समान्य उपचार पछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार चलि रहेको छ । उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।
प्रशिक्षार्थी प्रहरी जवान सरोज चौधरी र प्रशान्त रावलको आईसीयूमा राखेर उपचार भइरहेको बताउदै जोशीले उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालय गण धनगढीले १० किलोमिटरको दौड गराएको थियो । सोही क्रममा उनीहरु लडेर बेहोस भएका थिए ।