महेन्द्रनगर । विहान ४ बजे उठेर तरकारीको खेतबाट सुरु हुन्छ कञ्चनपुरको वेदकोट नगरपालिका १० हरपालकी ४० वर्षिया रन्जना चौधरीको दैनिकी, उनले ५ कट्टामा अहिले व्यावसायिक रुपमा तरकारी खेती गरेकी छन् । उनको श्रीमानले पनि उनलाई खेती गर्न सहयोग गर्ने गरेका छन् ।
विहान ढकियामा तरकारी हालेर टाउकोमा राखेर उनी गाँउगाँउमा डुलेर तरकारी बेच्ने गर्छिन् । उनले तरकारी बेचेर आफनो घरखर्च मात्रै चलाएकी छैनन् त्यसैबाट आफनो छोराछोरीलाइ पढाई पनि राखेकी छन् ।
उनले वार्षीक तरकारी बेचेर लाखौ रुपैँया आम्दानी गर्दै आत्मनिर्भर बन्न सफल भएकी छन् । पहिले घरायसी काममै सीमित रहेकी चौधरीले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी बजारमा बिक्री गर्दै राम्रो आम्दानी गरिरहेकी छन् ।
चौधरीले आफ्नै खेतबारीमा आलु, टमाटर, भिण्डी, बोडी, काँक्रो, बैगन, गोबी, काउली, सागसब्जी लगायतका तरकारी उत्पादन गर्दै आएकी छन् । उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नजिकका व्यापारीमार्फत बिक्री हुने गरेको छ । यसबाट उनले मासिक रूपमा उल्लेखनीय आम्दानी गर्न थालेकी छन् ।
उनका अनुसार सुरुमा खेती गर्दा बीउ, मल, सिंचाइ र बजारको समस्या भए पनि निरन्तर मेहनत र अनुभवले अहिले खेती व्यवस्थित हुँदै गएको छ ।
“पहिले अरूको भर पर्नुपथ्र्यो, अहिले आफ्नै कमाइले घर चलाउन सकिन्छ,” उनले भनिन् । स्थानीय कृषि प्राविधिकका अनुसार रन्जना चौधरी जस्ता किसानहरूले व्यावसायिक तरकारी खेतीमा आकर्षण बढाएपछि गाउँमा रोजगारी र आयआर्जनको सम्भावना बढेको छ ।
यसले अन्य महिलालाई पनि कृषि पेशातर्फ प्रेरणा दिएको उनीहरूको भनाइ छ ।हाल चौधरीले थप क्षेत्रफल विस्तार गर्ने र आधुनिक प्रविधि प्रयोग गरी उत्पादन बढाउने योजना बनाएकी छन् ।
उनले सरकार तथा स्थानीय तहबाट समयमै प्राविधिक सहयोग र अनुदान पाए अझ प्रभावकारी रूपमा तरकारी खेती विस्तार गर्न सकिने बताइन् ।
Comments are closed.