बैतडीमा बारीमा उत्पादित अन्नबालीले तीन महिना पनि नथेग्ने

बैतडीमा खाद्यान्न अपुग हुन थालेको छ । बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि बैतडीका विभिन्न क्षेत्रहरु न्यूनतम खाद्य असुरक्षित हुन थालेका हुन् ।

बारीमा उत्पादित अन्नबालीले तीन महिना पनि नथेग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्र तोकिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनु भयो । साविकको जिल्ला कृषि विकास कार्यालयले तीन बर्षअघि गरेको अध्ययनअनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा र ढुंगाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रको रुपमा राखिएको छ ।

पछिल्ला तीन बर्षयता पनि कृषि उत्पादनमा सुधार नआएकाले ती क्षेत्रहरुलाई खाद्यान्न असुरक्षित क्षेत्रमा राखिएको हो । खडेरी, जंगली जनावर लगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीयहरुले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादन कमी आउन थालेको हो ।

जंगली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका वडा नम्बर ५ का स्थानीय पुष्पा चन्दले बताउनु भयो । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जंगली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएपछि स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । खाद्यान्न पनि अपुग बैतडीमा उत्पादित खाद्यान्न जिल्लाकै लागि अपुग हुने गरेको छ ।

पछिल्ला बर्षहरुमा खाद्यान्न उत्पादनमा कमी आएसंगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ । जंगली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमीन बाँझै राख्ने प्रवृति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो ।

जिल्लामा बार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परेपनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार बार्षिक ७ हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । पहिले थोरै मात्रामा आयात भएपनि झण्डै एक दशकदेखि आयात हुने खाद्यान्नको परिमाण बढिरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.