महेन्द्रनगर । वेष्ट इण्डिज ‘ए’ले घरेलु नेपाली टोलीसँगको पाँच खेलको टी२० शृंखलामा २–१ ले अग्रता बनाएको छ। बुधबार भएको शृंखलाको तेस्रो खेलमा नेपाल पाहुना टोलीसँग ७६ रनले पराजित भयो। नेपालले पहिलो खेलमा ४ विकेटले जित निकालेको थियो। दोस्रो खेल भने १० रनले पराजित भएको थियो।
शृंखलाको तेस्रो खेलमा वेष्ट इण्डिजले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १ सय ५१ रन बनाउँदा अलआउट भयो। करण केसी २८ रन बनाउँदा सागर ढकाल ३ रनमा नटआउट रहे। नेपालका लागि ओपनर लोकेश वमले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो।
कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। विनोद भण्डारीले १९ तथा अनिल शाहले १४ रन थपे। कप्तान दीपेन्द्र सिंह ऐरी ७ रन बनाउँदा रन आउट भए। कमल सिंह ऐरी ६ रन बनाउँदा क्याच आउट भए। नेपाललाई सस्तैमा रोक्न वेष्ट इण्डिजका हेडन वेल्सले ३ विकेट लिए। गुणाकेश मोतीले २ तथा फावियन एलियन र म्याथु फोर्डले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो। फ्लेचर १ सय १९ किम पल १३ रनमा नटआउट रहे। फ्लेचरले ६१ बलमा १३ चौका र ७ छक्का हाने। दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चाल्र्सले १ सय ४५ रनको विशाल साझेदारी गरेका थिए।
३३ बलमा ४ चौका र ३ छक्का हानेका फ्लेचर सागर ढकालको बलमा दीपेन्द्रको हातबाट आउट भए। दीपेन्द्रले १६ औँ ओभरको पाचौँ बलमा आन्द्रे फ्लेचरलाई क्याच आउट गराउँदै वेष्ट इण्डिजको बलियो साझेदारी तोडेका थिए। फाबियन आलिन १९ रन बनाउँदा करण केसीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए। त्यसअघि चौथो ओभरको पहिलो बलमा ओपनर एरिक अथानाजे १७ रन बनाउँदा रन आउट भए। नेपालका लागि सागर ढकाल र करण केसीले समान एक विकेट लिए।
करणले आफ्नो स्पेलमा ५४ रन खर्चेर १ विकेट लिए। कमलले आफ्नो स्पेलमा ५३ रन खर्चदा विकेटविहीन रहे। बुधवार खेलमा जित हात पारेसँगै पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ। अब चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।
नेपालले पहिलो खेलमा जित निकालेको थियो। नेपालले टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको ए टिमसँग सिरिज खेलेको हो। शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।