महेन्द्रनगर । अमेरिकाबाट शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् । मंगलबारको विनिमय दर अनुसार ग्लोबल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबिसहितका बैंकमा रहेको उनको खातामा २० करोड ४१ लाख ५८ हजार ११६.४१ नेपाली रुपैयाँ होल्ड गरिएको छ।
२०७४ सालयता शाहको समूहले अमेरिकाका विभिन्न व्यक्तिसँग ठगी गरेर दर्जन बढी कम्पनीको नाममा मंगलबारको विनिमय दर अनुसार ५९ करोड ४८ लाखभन्दा बढी रकम भित्र्याएका थिए । यो अमेरिकी डलर वापतको रकम मात्र हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शंकास्पद रकम भित्र्याएको आरोपमा शाहलाई २२ पुसमा पक्राउ गरेको थियो।
अनुसन्धानपछि शाहसहितको समूहविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सोमबार उनी संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।