परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

महेन्द्रनगर । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् ।

कञ्चनपुर क्षेत्र नं। २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए । कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले दाहाल नेतृत्को मन्त्रिपरिषद्‍मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन् ।

वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहँदा साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो । यद्यपि सरकारले पूर्णता पाइसकेको छैन । कांग्रेसले सरकारमा थप पाँच मन्त्री पठाउने तयारी गरेको छ । तर त्यसका लागि सभापति देउवा र शेखर कोइराला पक्षबीच सहमति जुटिसकेको छैन ।

सम्बन्धित

Comments are closed.