महेन्द्रनगर । वेस्ट इण्डिज ए विरूद्ध नेपालले सानदार जित निकालेको छ। त्रिवि मैदान कीर्तिपुरमा जितका लागि २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो। कप्तान रोहित पौडेलको शतकीय पारीसँगै गुल्सन झा र प्रतिश जिसीको उत्कृष्ठ ब्याटिङमा नेपालले वेस्ट इण्डिजविरूद्ध सानदार जित निकालेको हो। ४८ बलमा १० चौका र ५ छक्का प्रहार गरी १७.२ ओभरमा शतक पूरा गरेका पौडेल १८.५ ओभरमा आउट भएका थिए। पौडेले आउट हुँदा नेपाललाई ७ बलबाट १३ रन आवश्यक थियो।
उनको विकेटपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरे। अन्तिम ओभरको ६ बलबाट नेपाललाई ९ रनमात्रै आवश्यक थियो। ओभरको दोस्रो बलमा १ रन लिएर प्रतिशले गुल्सनलाई स्ट्राइक दिएका थिए। त्यसपछि लगातार दुई छक्का प्रहार गर्दै गुल्सनले २ बल बाँकी छँदै टिमको जित सुनिश्चित गरेका हुन्। गुल्सन झाले ४ बलबाट ९ रन र प्रतिशले २ बल खेलेर ५ रन हान्दै नट आउट रहे।
त्यसअघि कप्तान रोहित पौडेलले ५४ बल खेलेर १० चौका र ६ छक्का प्रहार गरी ११२ रन बनाएका थिए। दिपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडेका थिए। कुशल मल्लले १५ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रनको योगदान गरे। ओपनर अनिल साह ५ रन बनाएर आउट हुँदा कुशल भूर्तेल १६ रन जोडेर पेभिलियन फर्केका थिए। बलिङमा वेस्ट इण्डिजका म्याथ्यु फोर्डी र ओबेड मिककोएले २र२ विकेट तथा किमो पउलले १ विकेट लिए।
त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाए। त्यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए।
त्यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे। किची कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३८ रन जोडे। आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे। बलिङतर्फ नेपालका कमलसिंह ऐरीले, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले एकरएक विकेट लिए। पाँच खेलको सिरिजको दोस्रो खेल भोलि हुनेछ।
Comments are closed.