भारत टी–२० विश्वकपको सेमिफाइनल नजिक

महेन्द्नगर । भारत लगातार दुई जितसहित टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । सुपर एटमा लगातार दोस्रो जितसहित भारत सेमिफाइनल नजिक पुगेको हो । नर्थ साउन्डमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हरायो ।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १९५ रन बनायो । हार्दिक पाण्डेयाले २७ बलमा अविजित रहँदै ५० रन बनाए । विराट कोहलीले २८ बलमा ३७ तथा ऋषभ पन्तले २४ बलमा ३६ रन बनाए । जवाफमा बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रनमात्र बनाउन सक्यो ।

कप्तान नजमुल हुसेन शान्टोले सर्वाधिक ४० रन बनाएको इनिङ्समा भारतका लागि कुलदीप यादवले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा अलराउन्डर एवं प्लेयर अफ द म्याच हार्दिक पाण्डेयाले १ विकेट लिए । यो जितसँगै भारतको २ खेलमा ४ अंक भएको छ । दोस्रो स्थानको अष्ट्रेलियाको १ खेलबाट २ अंक छ ।

अफगानिस्तानको एक खेलबाट शून्य तथा बंगलादेशको २ खेलबाट शून्य अंक छ । बंगलादेश औपचारिक रुपले नै सेमिफाइनल होडबाट बाहिरिएको छ । अहिले अष्ट्रेलिया र अफगानिस्तान भिडिरहेका छन् । अफगानिस्तानले पहिले ब्याटिङ गरिरहेको छ । यो खेल विजयी भए अष्ट्रेलियासँगै भारत पनि सेमिफाइनलमा पुग्नेछ भने अफगानिस्तान पनि बाहिरिने छ ।

अफगानिस्तान विजयी भए सेमिफाइनल होड रोमाञ्चक हुनेछ । सुपर ८ को समूह २ मा २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । वेष्ट इन्डिज र इङ्गल्याण्डको समान २ अंक छ । अंकविहीन अमेरिका अन्तिम खेल खेल्नुअघि नै बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा अमेरिकाले इङ्गल्याण्डसँग र दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग खेल्नेछ । तीनमध्ये दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.