अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

महेन्द्रनगर । भारतले आईसीसी टी २० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप १ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप २ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो ।
ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए । भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।
कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १(१ विकेट लिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।
मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए । ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए ।
पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।
Comments are closed.