महेन्द्रनगर । असार २२ र २३ गते परेको अविरल वर्षाले वेदकोट नगरपालिकाको वडा नम्वर ९ मा पनि क्षती गरेको छ । वेदकोट नगरपालिका ९ को नयाँ वस्ती नजिक भएर बग्ने कनकट्टी खोलाले स्थानियहरुको पक्की घर, खानेपानी, विधुत, अनाज, खेतमा क्षती गरेको हो ।
राती ११ बजे कनकट्टी खोलाले आफनो धार परिवर्तन गरेर वस्तीमा पसेपछि स्थानियहरुको घरमा बाढी पसेको छ भने, खेतहरु बगरमा परिणत भएका छन् । कतिपय स्थानियहरुको पक्की घर पनि भत्कीने अवस्थामा रहेका छन् । वेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनकबहादुर विष्टले आफनो पालिकामा अअविरल वर्षापछि आएको बाढीले धेरै क्षती गरेको बताउनु भयो ।
स्थानिय पुस्कर नायकको घर पुरै जोखिममा रहेको र अन्य ४ घरपरिवार खानेपानी, बाटो, विजुली सबैबाट बञ्चित र खेत पुरै बगरमा परिणत भएको जानकारी दिनु भयो । स्थानिय मानसिंह भण्डारी, रामसिंह राना, राजबहादुर ऐडी र पुस्कर नायक लगायतको १ विगाह जमिन घरमा क्षती पुगेको वडा अध्यक्ष विष्टले बताउनु भयो ।
विहिवार पालिकाबाट जेसिबी ल्याएर खोलमा माटो भरेर हिडने बाटो बनाउन खोज्दा जेसिबी नै खोलमा फसेर काम गर्न निकै समस्या भएको उल्लेख गर्नु भयो । बाढीबाट पिडित हुनु भएका स्थानियहरुलाई खानेपानी विधुत र बाटो मात्रै बनाएर दिन पाए निकै सहज हुने बताउनु भयो ।
अहिले आफु दिनरात स्थानिहरुको पिरमर्का समस्यामा नै रहेर काम गरिरहेको बताउँदै प्रकृतीको अगाढी हार खानु पर्ने अवस्था आएको बताउनु भयो । ३० देखी ३५ घरपरिवार विस्थापित भएका हरुलाई उदयदेव मावीमा राखेर उनिहरुको व्यवस्थापन र घरबार गुमाएका हरु, बाटोलाई पहिलो प्राथमिकतामा राखेर काम भईरहेको बताउनु भयो ।
बाढी पिडित स्थानीय धनबहादुर कुँवरले यो वर्षातले आफनो घर, खेत अनाज, बाख्राहरुलाई क्षती गरेको बताउनु भयो । बाढीबाट राती १२ बजे आफनो परिवार र अन्य स्थानियहरुलाई उद्धार गरेर लगेको र ५ बाख्राहरु बगेर गए उनले भने, यो अवस्थामा स्थानिय सरकार, प्रदेश र संघिय सरकारले पिडितहरुलाई साथ र सहयोग गर्नुपर्ने बताउनु भयो ।
अर्का पिडित कलावती धामीले आफनो घर बाढीले कटान गरेर उच्च जोखिममा रहेको बताउनु भयो । अब वर्षात आयो भने पुरै घर नै बगेर जाने जोखिम रहेको बताउनु भयो । यो बेलामा सम्बन्धित सरकारले घर बचाईदिन आग्रह गर्नु भयो ।