चितवनको सिमलताल घटना अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए

महेन्द्रनगर । चितवनको सिमलतालमा पहिरोले बगाएर दुइटा गाडी त्रिशूलीमा पु¥याएको घटना अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

साथै उनले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने पहिलो प्राथमिकता रहेको बताए। गत शुक्रबार सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको दुइटा गाडीको घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने निर्णय भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि राखेर समिति गठन गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। उक्त कार्यदललाई १० दिनको समय दिइएको छ।

कार्यदलले सिमलतालमा कसरी पहिरो गएको, के कारणले घटना भयो, यस्ता घटना दोहोरिन नदिन के गर्ने, बेपत्ता भएकाहरूलाई राहत के–कसरी उपलब्ध गराउने भन्ने विषय समेटेर प्रतिवेदन तयार पार्नेछ।

गृहमन्त्री लेखकले पनि प्राकृतिक प्रकोपबाट उत्पन्न परिस्थितिसँग जुध्नु नै पहिलो निर्णय भएको बताएका छन्।

सम्बन्धित

Comments are closed.