महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउनुको कारण संसद्लाई जानकारी दिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाउन नसकेको बताए । आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले थिति बसाल्न नसकेपछि नयाँ सरकार बनाइएको बताए ।
“नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुची पनि राखेन । जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुल हेरर बस्न सकेनौँ ।
यही कुरालाई आत्मसात गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ,” उनले भने । ओलीले एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएको बताए । तर, खास समयमा दुई पार्टीबीच सहकार्य भएको र देशलाई परिणाम पनि दिएको जिकिर गरे । ओलीले साँतबुदे सहमति गरी फेरि सहकार्यको थालनी गरेको बताए ।