त्रिशूलीमा बस खोज्न भारतबाट ल्याइयो ४० किलोको चुम्बक

महेन्द्रनगर । १५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए।

पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो। भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो। भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएका थिए।

त्यसअघि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए। तर उनीहरुसँग त्यसको रेकर्ड प्रणाली थिएन। भारतीय टोलीसँग क्यामेरासँगै त्यसले देखाएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि छ। ४ जना गोताखोर र एक्पर्टसहितको टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरुको खोजी गरिरहेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोनार क्यामेराले खोजी गर्दा केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको बताए। ‘क्यामेराले खोजी गर्दा सिमलताल नजिकै, घुमाउने र केराबारी क्षेत्रका केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको छ,’ उनले भने, ‘शनिबार दिउँसो सो क्षेत्रमा विशेष खोजी गर्दैछौं।’ प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ ठूलो चुम्बक मगाएको छ।

‘भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ। आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’ उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए।

सम्बन्धित

Comments are closed.