महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट ५ जना युवायुवती पक्राउ परेका छन् । कञ्चनपुरमा २ जना कैलालीमा ३ जना गरी ५ जना पक्राउ परेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–७ बस्ने २८ वर्षीय सागर जोशी १३० मिलिग्राम र भीमदत्त नगरपालिका–६ बस्ने २७ वर्षीय निरजबहादुर चन्द ३ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
दुबै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आईतवार नियन्त्रणमा लिएको छ। उता कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन् । आइतबार प्रहरीले धनगढी उप–महानगरपालिका –२ भन्सार ब्यारेल र धनगढी उप–महानगरपालिका – १ अस्पताल रोडबाट ३ जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा सुपप्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकललाई चेक गर्दा धनगढी उपमहानगरपालिका – ४ उत्तरवेहडीका २४ वर्षीय अनिल लामा तामाङ र धनगढी उपमहानगरपालिका – १३ झलारीका १८ वर्षीय नवीन कुमार ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरूको साथबाट १२ ग्राम ३६० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको छ । यस्तै अस्पताल रोडबाट डडेल्धुराको अजयमेरु गाउँपालिका – ५ घर भई धनगढी उप–महानगरपालिका – १ अस्पताल रोड बस्ने २० वर्षीय निरन्जन पन्त पक्राउ परेका छन् ।
उनको साथबाट १०० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.