आन्दोलनमा क्षति भएका सार्वजनिक भवन मर्मत गर्न निर्माण फाउण्डेसनले सघाउने

महेन्द्रनगर । जेनजीको आन्दोलनका क्रममा सार्वजनिक भवनहरूको मर्मतमा घर निर्माण फाउण्डेसनले सहयोग गर्ने भएको छ । स्कील सेवा प्रालिसँगको सहकार्यमा क्षति भएका अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय लगायतका भवन मर्मत गर्न सहयोग गर्ने फाउण्डेसनको घोषणा गरेको हो ।

अत्यावश्यक सेवा प्रदान गर्ने भवनहरू क्षति हुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको छ । सेवा सुचारु नभए देशै ठप्प हुने भएकाले मर्मत तथा पुनर्निर्माण अभियान सुरु गर्ने तयारी गरेको फाउण्डेशनका निर्देशक महेश तिमिल्सिनाले जानकारी दिएका छन् ।

यो परियोजना केवल मर्मतको काम मात्र होइन, राष्ट्र पुनःनिर्माणको अभियान भएको तिमल्सिनाले बताए । ‘अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय जस्ता सार्वजनिक सेवामा अत्यावश्यक भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिनेछ’ उनले भने ।

आफूहरूसँग यस किसिमको कामका लागि आवश्यक सम्पूर्ण दक्ष जनशक्ति उपलब्ध रहेको पनि उनले बताए । विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि लिएर सम्पूर्ण संरचनागत नवीकरणसम्मका काममा सक्षम रहेको निर्देशक तिमिल्सेनाले जानकारी दिए ।

सहयोग आवश्यक भएमा भवन क्षतिग्रस्त भएका सम्पर्क गर्न आग्रह गरिएको छ । ‘हामीलाई तपाईंहरूको आवश्यकता बताउनुहोस्, हाम्रो टोली निःसंकोच मर्मत तथा मूल्यांकन गर्न तयार छ’ फाउण्डेशनको अपिल छ।

सम्बन्धित

Comments are closed.