महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुईजनाको शव भेटियो

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–५ क्षेत्रबाट चार दिनअघि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान तथा एक स्थानीय नागरिक मृत अवस्थामा फेला परेका छन्।

खोजतलास गर्ने क्रममा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव ब्रह्मदेवस्थित महाकाली नदी किनारमा फेला परेको र तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ अन्तर्गत कल्पठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा भेटिएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।

मृतकमध्ये ओमप्रकाश पुन मगर परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बिओपी० मा कार्यरत २८ वर्षीय सशस्त्र प्रहरी जवान हुन भने ५६ वर्षीय तीर्थबहादुर थापामगर परशुराम नगरपालिका का स्थानीय हुन् । उनीहरू मामाभान्जा नाता पर्ने बताइएको छ।

गत शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवैजनाको खोजी कार्य नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र स्थानियको सहयोगमा अन्य सुरक्षा निकायको टोली महाकाली नदी आसपासका क्षेत्रमा खटिएको थियो।

खोजतलास गर्ने क्रममा उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेपछि नदीमा बगेको हुन सक्ने आशंका गरिएको थियो। स्थानीय थापामगरको शवको पोस्टमार्टम जोगबुडा अस्पतालमा गरिने भएको छ भने सशस्त्र प्रहरी जवान पुनमगरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.