आज २३ औँ दिन पनि रुस–युक्रेन युद्ध चल्दै,

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार २३ औँ दिन पनि लडाइँ चलिरहेको छ । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा आक्रमण गरिरहेकाे छ । रुसी आक्रमणबाट युक्रेनमा सर्वसाधारणसहितको ज्यान जानुको साथै भौतिक संरचनाहरू तहसनहस भएका छन् । यस्तै रुसी सेनातर्फ पनि धेरै क्षति भएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षा मन्त्रीले अहिलेसम्म १४ हजार दुई सयभन्दा धेरै रुसी सेनाको ज्यान गएको बताउनुभएको बीबीसीले जनाएको छ । तर दुवैतर्फ भएको क्षतिको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

यस्तै युक्रेनले रुसी सेनाको चार सय ५० वटा ट्याङ्क, ९३ वटा विमान र एक सय १२ वटा हेलिकप्टर ध्वस्त बनाएको दाबी गरेको छ । यस्तै ४३ वटा विमानभेदक प्रणाली बिगारिदिएको युक्रेनको दाबी छ ।यस्तै ल्भिभमा रहेकाे विमानस्थल नजिकै रहेको एउटा भवनमा रुसले हवाई आक्रमण गरेको विवरण प्राप्त भएको पनि बीबीसीले लेखेकाे छ ।

यसैबीच युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ । त्यसमध्ये धेरैजसाे महिला र बालबालिका रहेका छन् । यस्तै पोल्यान्डबाट पाँच लाखभन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन् । धेरैजसाे मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला सहरमा रहेका र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका बीबीसीले जनाएकाे छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.