न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
सोमबारको न्यायपरिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिल कुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । उनीहरु माथि कार्य क्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मान बहादुर कार्कीले बताउनु भएको छ ।
शर्मा माथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप छ । साथै उनी माथि कस्तुरीको विना सम्बन्धी मुद्दामा पनि कार्य क्षमताको अभाव रहेको भन्ने आरोप लागेको छ ।
न्यायाधीश निधि माथि नाबालिका माथि बलात्कार मुद्दामा खराब आचरण देखाएको आरोप छ । साथै विदेशीले नेपाली नागरिकता पाएको विवादमा पनि कैफियत युक्त फैसला गरेको आरोप उनी माथि छ ।
परिषदले गत शुक्रबार मात्रै उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दियाका जिल्ला न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्तको सिफारिस गरेको थियो ।
त्यही दिन उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई एक पटकका लागि सचेत बनाउने निर्णय गरेको थियो । अन्सारी र शाह माथि कार्यक्षमताको अभाव र खराब आचरणको आरोपमा कारवाही भएको हो । उप्रेती माथि रायकिताब र फैसलामा फरक विवरण लेखेको आरोप थियो ।
Comments are closed.