साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषि तर्पणी, रक्षा बन्धन र गाईजात्रा पर्वको बारेमा विभिन्न टीका–टिप्पणी भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते भोली नै ऋषि तर्पणी, रक्षा बन्धन र गाईजात्रा पर्व मनाउनु पर्ने जनाएको हो । यो पर्व साउन २६ गते बिहीबार मनाउनु पर्ने भनी केही सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायत बाट भइरहेको प्रचार–प्रसार शास्त्र सम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्र विद् प्रा डा देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षा बन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो । “धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखा सूत्र अनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षा बन्धन आदि गर्ने हाम्रो परम्परा रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साउन २६ गते सूर्योदयको दुई घडीपछि पूर्णिमा तिथि लाग्छ । साउन २७ गते चार घडीभन्दा कम पूर्णिमा तिथि छ । पूर्णिमा तिथि टुटेको समितिले जनाएको छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनु पर्ने शास्त्रीय वचन अनुसार समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएकोले भ्रममा नपरी त्यसै अनुरुप पर्व मनाउन समितिले आह्वान गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.