महेन्द्रनगर । कैलाली र कञ्चनपुरका ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको सिफारिसमा गणपति निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा रक्षा कन्स्ट्रक्सन र पुनर्वास नगरपालिकाको सिफारिसमा विजय कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यसअघि पनि डोटी, बाजुरा, डडेल्धुरा र अछाम लगायत जिल्लामा निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।
गत वर्ष पनि ए–वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो।