चीनबाट ८ लाख डोज खोप आयो

नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ।बिहीबार चीन गएको वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याइपु¥याएको हो ।

चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ  । जहाजमा खोप भण्डारण क्षमता ८ लाख डोजमात्रै भएकाले त्यति नै ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । ‘खोप भण्डारणका लागि आपूर्ति महाशाखामा क्षमता छ । जहाजमै नअटेर आठ लाख डोजमात्र ल्याएका हौं’, उनले भने।थप खोप लिन जहाज शुक्रबारै चीनतर्फ उडिसकेको छ ।

आइपुगेको खोपमध्ये केही शुक्रबार नै गण्डकी प्रदेश र हेटौंडामा पठाइएको स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ । अन्य प्रदेशमा पनि खोप पठाउने तयारी भइरहेको जनाइएको छ । खोप कुन मितिमा लगाउने भन्ने निर्णय हुन बाँकी रहेको र राष्ट्रिय खोप योजनाअनुसार कार्यान्वयन गर्ने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । उनका अनुसार यसअघि खोप लगाउन बाँकी ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिले खोप दिइनेछ । त्यसपछि अन्य उमेर समूहलाई प्राथमिकताअनुसार दिइने डा. गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने सम्भावना रहेको भन्दै खोप अभियान जारी रहने बताए । ‘हामीले खोजी खोजी खोप लगाउँछौं, खोप आउँछ’, उनले भने।कुन देशवाट कति खोप आउने, यो भने श्रेष्ठले खुलाउन चाहेनन् । स्रोतका अनुसार अमेरिका र जापानले कोभ्याक्सअन्तर्गतको खोप दिने भएका छन्।यसअन्तर्गत अमेरिकाबाट १५ लाख ३५ हजार र जापानबाट ३ लाखभन्दा बढी खोप आउने मन्त्रालय स्रोतले जनाएको छ  ।नेपालमा हालसम्म १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लिएका छन् भने ४ लाख ६० हजार ७ सय ३९ जनाले दोस्रो मात्रा पनि लिएका छिन्।त्यसैगरी भेरोसेलको खोप ७ लाख ८३ हजार ३ सय २३ जनाले पहिलो मात्रा लगाएका छन् भने २ लाख ९९ हजार २ सय २० जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

संक्रमणदर १९.७ प्रतिशत

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणदर १९.७ प्रतिशत रहेको छ।एन्टिजेन र आरटिपिसिआर विधिबाट परीक्षण गरिएका ११ हजार ३ सय १६ नमुनामध्येमा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।थप संक्रमितसहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ।तीमध्ये ४ लाख ३८ हजार ८८ जना दोस्रो लहर अवधिमा संक्रमित भएका हुन् ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० छ।यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ । तीमध्ये दोस्रो लहरको अवधिमा ६ हजार ८१ जनाले ज्यान गुमाएका छन्।गत २४ घण्टामा निको हुनेको संख्या १ हजार ३ सय १६ छ।२३ हजार ९ सय २० जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये ५ सय ३९ जनाको आइसियुमा र १ सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.