जापान र भुटानबाट प्राप्त भएका ती खोप प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाहेक अरू सबै प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
एक पटकमा एउटा मात्रै खोप दिने व्यवस्था मिलाउन जिल्लास्थित निकायहरूलाई निर्देशन दिइएको उल्लेख गर्दै राष्ट्रिय खोप कार्यक्रमका प्रमुखले अनावश्यक भिडभाड नगर्न र पहिलो मात्रा लिएको प्रमाण खुल्ने कागजपत्र सहित खोप केन्द्रमा आउन अनुरोध गरेका छन्।
काठमाण्डू उपत्यका र आसपासका प्रदेशका कतिपय जिल्लामा सोमवारबाट दोस्रो मात्रा खोप दिन थालिएको छ।
खोपको वितरण
राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप पुगिसकेको र सोमवारबाट वितरण आरम्भ भएको बताए।
उनले नेपालगन्ज र धनगढीका लागि आइतवार पठाइएको जापानबाट अनुदानमा प्राप्त खोप बाटोमा रहेको बताए।
“आज उपत्यका लगायत वाग्मतीका केही जिल्लाहरूमा, हिजोमात्रै खोप पुगेको गण्डकी प्रदेशका केही जिल्लाहरूमा र हिजो बाँडिएको बाटोमा पर्ने जिल्लाहरू जस्तै गोरखा, तनहुँ, नवलपरासीमा सुरु हुन्छ। आज सायद म्याग्दी, बागलुङ र पर्वत जिल्लामा पनि पुग्छ। लुम्बिनीको पनि सबै जिल्लामा खोप पुगेको छ।”
उनले थपे, “केही केही जिल्लाहरूमा पहिलेको खोप पनि चलिरहेको र नियमित खोप पनि भएका हुनाले त्यो मिलाउँदै हुनुहुन्छ। हामीले एउटै जिल्लामा एकै दिन दुईवटा खोप नचल्नेगरी व्यवस्था मिलाएका छौँ।”

काठमाण्डू उपत्यकामामा सोमवार र मङ्गलवार ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्रा खोप वितरण गरिने उनले बताए।
डा. गौतमका अनुसार उपत्यकामा झन्डै डेढ लाख आस्ट्राजेनेका खोप उपलब्ध गराउनुपर्ने अवस्था रहेको बताउँदै त्यो दुई दिनमा सम्पन्न हुने बताए।
आस्ट्राजेनेकाको खोपको वितरण सकिएपछि मात्रै बाँकी खोपको वितरण उपत्यकामा सुरु हुने उनको भनाइ छ।
प्रदेश १ र २ का ज्येष्ठ नागरिकले कहिल्ये कोभिड खोप पाउँछन्?
अहिले जापानबाट अनुदानस्वरूप प्राप्त भएको आठ लाख र भुटानबाट पैँचोमा लिइएको दुई लाख तीस हजार खोप प्रयोग गरी यो खोप अभियान अघि बढाइएको हो।
गत फागुन २३ गतेदेखि चैत १० गतेसम्म पहिलो मात्रा लिएका ६५ वर्ष र त्योभन्दा माथिको उमेर समूहका व्यक्तिहरूले करिब २३ सातापछि दोस्रो मात्राको खोप प्राप्त गर्ने भएका हुन्।
उक्त अभियानअन्तर्गत १३ लाख ६४ हजार ज्येष्ठ नागरिकले कोभिशील्ड खोप लिएका थिए। तर यसबीचमा कतिपयले खोप लगाइसकेकाले अहिले दोस्रो मात्रा लगाउने ज्येष्ठ नागरिकको सङ्ख्या केही घट्न सक्ने अधिकारीहरूले बताएका छन्।

साउन मसान्तभित्र यी खोप वितरण गरिसकिने लक्ष्य राखिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
जापानले नेपाललाई उपलब्ध गराउने भनेको कुल १६ लाख मात्रा खोपमध्ये बाँकी आठ लाख मात्रा दुई साताभित्र आइपुग्ने अपेक्षा अधिकारीहरूले गरेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने, “दशदेखि १४ दिनमा अरू खोप आइपुग्छ। मिति तय नभए पनि बढीमा १४ दिन भनिएको छ। त्यो खोप आएपछि प्रदेश १ र प्रदेश २ मा ज्येष्ठ नागरिकलाई खोप दिन सुरु हुन्छ।”
कसरी दिइन्छ खोप?
ज्येष्ठ नागरिकलाई वितरण गर्ने खोप देशमा आइपुग्दै गर्दा सरकारले शुक्रवार मात्रै १,४३३ वटा खोप केन्द्रहरू थपेको थियो।
यससँगै खोप अभियान सञ्चालन भइरहेका केन्द्रहरूको सङ्ख्या बढेर ४,४२२ पुगेको छ।
खोप कार्यक्रमका प्रमुख डा. गौतमले आफूहरूले खोप वितरणको मापदण्ड कडा रूपमा कार्यान्वयन गर्न जिल्लास्थित निकायहरूलाई भनेको बताए।
उनले खोप लगाउने व्यक्तिहरूले पनि आफ्नो उमेर समूहले खोप लगाउन बोलाइएको मितिमा आउनुपर्ने र अनावश्यक भिडभाड गर्न र दबाव दिन नहुने बताए।
उनले कोभिशील्डको खोपको पहिलो मात्रा खोप लगाएको कार्ड हेरेर दोस्रो मात्रा खोप दिइने पनि जानकारी दिए।
यस पटक दोस्रो मात्रा खोप मात्रै वितरण गरिएकाले अहिलेसम्म खोप नलगाएका व्यक्तिलाई आस्ट्राजेनेका खोप नदिइने अधिकारीहरूले बताइरहेका छन्।
अरू कुनकुन खोप वितरण भइरहेका छन्?
नेपालमा हालसम्म कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप वितरण गरिएको छ।
भारतबाट आपूर्ति रोकिएका कारण पछिल्लो समयमा नेपालको खोप अभियान चिनियाँ र अमेरिकी खोपको भरमा सञ्चालन भइरहेको छ।

गत शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चरणबद्ध रूपमा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको ती खोपको अभियान अन्य चार प्रदेशमा जारी रहेको जनाएको थियो।
खोप शाखा प्रमुख डा. गौतम हालसम्म ११ लाख मात्राभन्दा बढी जोनसन एन्ड जोनसनको खोप वितरण भइसकेको बताउँछन्।
उनले भने, “आस्ट्राजेनेका सिद्धिनेबित्तिकै हामी भेरो सेलको दोस्रो मात्रा वितरण गर्न थालिहाल्छौँ।”
आइतवार सार्वजनिक गरिएको सत्ता समर्थक दलको नीति तथा कार्यक्रममा असोजसम्ममा एकतिहाइ र चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकहरूलाई खोप वितरण गरिने लक्ष्य राखिएको छ।
आइतवार अपराह्णसम्म झन्डै २५ लाखले पूर्ण मात्रा र ४५ लाख नागरिकले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाइसकेका छन्।
Comments are closed.