बैतडीमा पहिलोपटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा सुरु भएको छ। ‘क्यास लेस’को अवधारणा अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु गरेको हो। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले बताए। यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तह समेत बैतडीको दशरथचन्द नगरपालिका बनेको छ।
अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सीधै भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ। महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा बैतडीको दशरथचन्द नगरपालिकाले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो। सूत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने बिषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले बैतडीका स्थानीय तहका लेखापालहरूलाई ३ दिने तालिम समेत दिएको थियो।
विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताहरूले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको बैतडीको दशरथचन्द नगरपालिकाका लेखा अधिकृत उद्धव देव भट्टले बताए। विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए। छिटो, छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहेको जोशीको भनाई छ।
Comments are closed.